काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न प्रमुख दलका शीर्ष नेताहरूबीच छलफलको तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा पूर्वमहान्यायधिवक्ता समेत रहेका एमाले नेता अग्नि खरेललाई नियुक्त गरेसँगै आयोग गठनको तयारीस्वरुप प्रमुख दलका नेताहरूबिच छलफलको तयारी भएको हो ।
केही दिन अघि प्रधानमन्त्रीका सल्लाहकार खरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर छलफल गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र सल्लाहकार खरेलबिचको छलफलमा अवरुद्ध प्रक्रिया अघि बढाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन ढिला गर्न नहुनेबारेमा कुराकानी भएको थियो ।
सोमबार नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबिच छलफल गर्ने तयारी भएपनि प्रचण्डको समय अभावले रोकिएको खरेलको भनाइ छ ।
राष्ट्रिय मानवअधिकार आयोगले फागुन तेस्रो साता प्रधानमन्त्रीलाई पत्राचार गर्दै अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियालाई अघि बढाउन, सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गर्न आग्रह गरेको थियो । त्यसअघि परराष्ट्रमन्त्री आरजु राणासँग पनि आयोगले अवरुद्ध सङ्क्रमणकालीन न्याय प्रक्रियाबारे छलफल गरेको थियो ।
सरकारले गत कात्तिकमा दुवै आयोग गठनका लागि सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेपनि थप प्रक्रिया सुरु भएर पनि रोकिएको थियो । त्यसपछि मंसिर मसान्तमा समिति अध्यक्ष मिश्रले आयुक्तहरूको नाम सिफारिस गर्न असफल भएको भन्दै नेपाल सरकारलाई सुरुबाटै प्रक्रिया थाल्न सुझाव दिनुभएको थियो ।