काठमाडौं । पूर्वविशिष्ठहरूलाई आजीवन सेवा सुविधा दिन लागिएको भनेर आएको समाचारको विषय संसद्मा पुगेको छ । आज बसेको संदस् बैठकमा सांसदहरूले यो विषयलाई उठाएका छन् । राज्यलाई भार थपिनेगरि पूर्वविशिष्टहरुलाई सुविधा थप्ने कुरा आपत्तिजनक भएको भन्दै यसबाट सरकार पछि हट्नुपर्ने बताएक छन् ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टहरूलाई दिइएको मनोमानी सुविधा पनि रोकिनुपर्ने बताउनुभयो । उहाँले सांसदहरूकै सुविधा घटाउन तयार हुनुपर्ने प्रस्ताव गर्नुभएको छ । उहाँले अहिलेका विशिष्ट पदाधिकारीहरूको समेत सुविधा घटाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य रामकृष्ण यादवले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनु देशको हितमा नहुने बताउनुभएको छ । उहाँले मुलुकको आर्थिक अवस्था कमजोर रहेको, भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको र जनता उपचार नपाएर ज्यान गुमाउने अवस्था देखिइरहेकाले पूर्वविशिष्टलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन नहुने बताउनुभएको हो ।
त्यस्तै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरि कानून बनाउन लागिएको भन्दै आपत्ति जनाउनुभएको छ । महँगी नियन्त्रण र गरिबलाई राहतमा दिनुपर्नेमा जनताप्रतिको उत्तरदायित्व भुलेर सरकार विशिष्ट व्यक्तिलाई सेवा सुविधाको निर्णय उचित नभएको उहाँले बताउनुभयो ।
स्वतन्त्र सांसद डा. अमरेश सिंहले पनि सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी ड्राफ्ट गरेको कानुनको विरोध गर्नुभएको छ । विशिष्टहरुले पदमा हुँदा पनि लुट्ने गरेको र विभिन्न काण्ड गराउने गरेको उहाँले आरोप समेत लगाउनुभयो । पदबाट बाहिरिइसकेपछि पनि जनतालाई ऋणको मारमा पारेर सुविधा दिन नहुने उहाँको भनाई थियो ।