काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताउनुभएको छ । सरकार गठन भएको ८ महिना बितिसकेको अवस्थामा मन्त्रीहरूले सम्पत्ति सार्वजनिक नगर्नुले सुशासनमाथि प्रश्न उठाएको उहाँले जिकीर गर्नुभयो ।
प्रतिनिधिसभामा आज पेस भएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिँदै साहले सम्पत्ति सार्वजनिक गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने जिकिर गर्नुभयो ।
सुशासनका लागि पारदर्शिता आवश्यक पर्ने भए पनि वर्तमान सरकार कुनै पनि विषयमा त्यस्तो नभएको र भ्रष्टाचार गरेको सम्पत्ति वैध बनाउन विधेयक ल्याइएको आरोपसमेत लगाउनुभयो । उहाँले विश्वमै नेपाल सबैभन्दा बढी कर लिने देशका रुपमा चिनिएको बताउनुभयो ।
भारत र चीनभन्दा नेपालमा चार गुणा बढी कर लिइने भन्दै उनले त्यसको बदलामा जनतालाई चार गुणा बढी सुविधा दिनुपर्ने तर्क गर्दै जनतालाई सुविधा दिनेगरी कानुन, नियम बनाउनुपर्ने बताउनुभयो ।