Aug 27 2026 | २०८३, भाद्र ११ गते

२०८३, भाद्र ११ गते
  • यो साता चर्चामा :
images

पूर्वराजाका गतिविधीले संसद् तरंगित, लोकतन्त्र विपरीत कार्य गरे क्रान्ति हुने चेतावनी, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न आग्रह (खास खबर)

पूर्वराजाका गतिविधीले संसद् तरंगित, लोकतन्त्र विपरीत कार्य गरे क्रान्ति हुने चेतावनी, लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न आग्रह (खास खबर)

  • मंगलवार, फाल्गुण २७ २०८१

  • 497
    SHARES

  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधीवारे आजको प्रतिनिधीसभा बैठकमा सांसद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् । विपक्षी दलहरुले वर्तमान सरकारका कारण लोकतन्त्र खतरामा परेको आरोप पनि लगाएका छन् ।

    नेपालका जनता जहिले पनि लोकतन्त्रको पक्षमा रहेको तर, लोकतन्त्र ठुला पार्टीका नेताबाट खतरामा परेको टिप्पणी प्रतिनिधीसभामा भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकलाई सम्वोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिनुभयो । संसद् बैठकमार्फत प्रचण्डले लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्न राजावादीहरूलाई आग्रह गर्नुभएको छ ।

    लोकतन्त्र जति प्रचण्डको हो त्यति नै ज्ञानेन्द्र शाहको पनि भएको र यही भाव संविधानमा रहेको प्रचण्डको भनाई छ । प्रचण्डले जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको बताउनुभयो ।

    सत्तारुढ र सरकारकै कारण मुलुकमा प्रतिगामी र राजावादीहरूको चलखेल हुनुका साथै जनता समेत असन्तुष्ट रहेको भन्दै अध्यक्ष प्रचण्डले सरकारको आलोचना गर्नुभयो । सरकार र राजावादीविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको प्रचण्डको भनाई छ ।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा संविधान विपरीत हुने कुनै पनि षड्यन्त्रविरुद्ध सबै दल एक भएर अघि बढ्नुपर्ने बताउनुहुन्छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले विभिन्न कारणले जनता आक्रोशित भएको भन्दै एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

    २०६२-०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले नेतृत्वले अव सुध्रिनु पर्ने र जनताको कुरा सुनेर अगाडि बढ्नु पर्ने बेला आएको थापाको भनाई छ ।

    नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरू संविधान विरोधी रहेको भन्दै प्रतिनिधीसभामा आपत्ति जनाएको छ । पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराजाको उक्साहट र निर्देशनमा पञ्चायतकालीन राष्ट्रिय गान गाउन थालिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

    बर्तौलाले संविधानको धारा १ मा ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने’ उल्लेख गरिएको स्मरण गराउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वराजाको नामबाट संसद् तरंगित हुनु खुसीको कुरा भएको प्रतिकृया दिएको छ ।

    सांसद ध्रुवबहादुर प्रधानले संविधानमा व्यवस्था परिवर्तन नहुने भन्ने कुरा नरहेको भन्दै अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गर्नुभयो । राप्रपाका अर्का सांसद रोशन कार्कीले गत २५ फागुनमा काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा देखिएको भिड ‘ट्रायल’ मात्रै भएको बताउनुभएको छ ।

    उहाँले अरु ७३ जिल्लाका मान्छे यसैगरी उत्रिएको खण्डमा गणतन्त्रका नेताहरूलाई लुक्ने ठाउँ समेत नहुने टिप्पणी गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्बाटै पूर्वराजाको पक्षमा सरकारलाई चुनौति दिईरहेको अवस्था छ । यता, राजावादीका गतिविधि नियन्त्रण अन्य दलले सदनमार्फत माग गरिरहेका छन् । राष्ट्रियसभा र प्रतिनिधीसभामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराईराखेका छन् । यस्तो बेला तत्काल समाधान खोज्न सरकार र दलहरुले ढिलाई गर्नु हुँदैन ।

     


    मंगलवार, फाल्गुण २७ २०८१०७:३७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij