काठमाडौं। विपक्षी दलहरुले पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षमा राजावादीहरुका पछिल्ला गतिविधि हुनुमा ओली नेतृत्वको सरकारको नालायकीपन भएको निष्कर्ष निकालेका छन् ।
वर्तमान सरकारकै कारण प्रतिगामी तत्वहरू सलबलाउन थालेको आरोप नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले लगाएका छन् ।
हिजो आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा काठमाडौंमा राजतन्त्र पक्षधरहरूले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए ।
प्रतिवादको तयारी स्वरुप आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्यो । माओवादी केन्द्रले सरकार नालायक भएकाले पछिल्ला गतिविधि भएको ठहर गरेको छ ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटा सत्तामा पुनः जाने चाहना भए पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा आउन सक्ने चेतावनी दिनुहुन्छ । यसका लागि राजनीतिक दल खोलेर चुनावमा लड्न सक्ने उहाँको सुझाव छ ।
गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै नेकपा एकीकृत समाजवादीले पनि त्यसको विरोध गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले त्यस्ता गतिविधिको विरोध गर्दै विशेष प्रस्ताव समेत पारित गरेको छ ।
पार्टीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएका क्रियाकलापको गम्भीर समीक्षा गर्दै सबै दल, वौद्धिक जगत, नागरिक समाज र जनसमुदायमा अपिल गरेको बताउनुहुन्छ ।
त्यसो त, हिजो नै पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास भैरहेको भन्दै आपत्ति जनाईसक्नु भएको छ । पूर्व राजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा यस्तो गतिविधि गरेको भन्दै चर्को टिप्पणी गर्नुहुन्छ ।
प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ६ गते पूर्व राजा शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको प्रधानमन्त्री ओलीको भनाई छ । मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ । देश के भएको छ र ? प्रधानमन्त्री ओलीको पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रश्न छ ।
पूर्वराजा राजनीतिमा आउने भए स्वागत गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ । तर, शाहले के मागेको आफूले नबुझेको प्रधानमन्त्रीको दाबी छ । प्रधानमन्त्री ओली पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिमा आउन चुनौती दिनुहुन्छ ।
सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेले राजावादीहरुको गतिविधिप्रति चर्को आलोचना गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्रको पक्षमा माहोल नदेखिएको टिप्पणी गर्नुभएको छ । हिजोको प्रदर्शन सामान्य भएको उहाँको तर्क छ ।
पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भिडपछि विपक्षी दलहरुले राजतन्त्रवादी समूहहरूलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने आह्वान समेत गरिसकेका छन् ।
जननिर्वाचित संविधानसभाले २०६५ जेठ १५ गते राजतन्त्रको समूल अन्त्य गर्दै गणतन्त्रको घोषणा गरेको थियो । तर अन्त्य भईसकेको राजतन्त्रको पक्षमा नारा लाग्नुको कारण खोज्न दलहरुले ढिला गर्नुहुदैन ।