काठमाडौं । राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगर पालिकालाई जरिवाना तिरेको छ । पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आज महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिर्नुभएको हो ।
उहाँले महानगरलाई जरिवाना तिरेपछि राप्रपा सुशासन र विधिको शासन मान्ने भन्दै राजाको स्वागतमा आएका समर्थकले बाटोमा क्षती पुर्याएको हुनेभन्दै जरीवाना तिरेको बताउनुभयो ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शनका क्रममा फोहोर गरेको र र्यालिङ भाँचेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।
उक्त प्रदर्शनमा सहभागी अर्को दल राप्रपा नेपाल र आफूलाई अभियन्ता भन्दै आएका राजावादी दुर्गा प्रसाईंको समर्थकहरू पनि सहभागी थिए । तर, महानगरपालिकाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई मात्रै जरिवाना गराएको थियो ।