काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताउनुभएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने बताउनुभएको हो ।
उहाँले विदेशका विभिन्न मुलुकमा गएर नेपालीले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सृजना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व बढाउनुु पर्ने बताउनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले बैङ्कहरू खराब साहूजस्तो हुन नहुने बताउनुभएको छ । बैंकहरुले अप्ठ्यारो परेको बेलामा घाँटी निचोर्न खोज्ने गरेको बताउँदै कोही पनि व्यवसायी आफ्नो व्यवसाय ढुवाउन नचाहाने भन्दै बैंकलाई उदारता देखाउन आग्रह गर्नुभयो ।
यस्तै उहाँले पूर्वराजाको स्वगतको क्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयलाई लिएर टिप्पणी गर्नुभएको छ । आज गैसस महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै उहाँले एउटा जुलुस निकाल्दा पनि विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा लोकतन्त्र नभएको बताउनुभयो ।
सरकार हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा अघि बढिरहेको जिकिर गर्नुभएको छ ।