काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले वर्तमान सरकारका कारण प्रतिगामीहरु सक्रिय भएको निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बसेको माओवादी पदाधिकारी बैठकले दुई दलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।
प्रतिगामीहरू सक्रिय भए पनि नेपाली जनतालाई धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो । उहाँले अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले यसको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्ने पार्टीको निष्कर्ष रहेको बताउनुभएको छ । संविधान जारी गरेको र मुलुकमा संघीयतासहितको परिवर्तन मन नपराउनेले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको प्रवक्ता सापकोटाले बताउनुभयो ।
उहाँले अहिलेको संविधान र व्यवस्थाप्रति केही प्रश्न उठे पनि त्यसको समाधानसमेत रहेको बताउनुभएको छ । बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसद्हरूमा माओवादीले शसक्त भूमिकासहित जनताका समस्या उजागर गर्ने निर्णय गरेको मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नरेहको तर्क गर्नुभयो ।
त्यस्तै पार्टीले बृहत जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति अर्को बैठकले तय गर्ने बताउनुभएको छ । झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको पाएको बताउँदै उहाँले हाललाई स्थगित अभियान अर्को महिना पुनः सुरू गर्ने जानकारी दिनुभयो ।