काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताउनुभएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै कुलपति समेत रहनु भएका प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताउनुभएको हो ।
गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफुले पहिलेदेखि नै कुरा उठाउँदै आएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय नभएकाले गेटा मेडिकल विश्वविद्यालयको रुपमा संञ्चालन गरिने बताउनुभयो ।
यसैगरी प्रधानमन्त्री ओलीले सुदूरपश्चिम सम्भावनाले निकै अगाडि रहेको भन्दै अब सुदुरपश्चिमको परिचय बदल्नु पर्ने अवस्था रहेको टिप्पणी गर्नुभएको भएको छ। सुदूरपश्चिम देव भूमि रहेको भन्दै उहाँले यहाँका मोठमंदिर, धार्मिक क्षेत्र पौराणिक क्षेत्र सबैको महत्व रहेको बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल विद्यार्थी दीक्षित भएका हुन् ।