काठमाडौं । नेपाली कांग्रेसले ‘हामी सक्छौं: मिसन रोजगारी’ अभियान सुरु गर्ने भएको छ। रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई राजनीतिक विमर्शको केन्द्रमा ल्याउने उद्देश्यसहित कांग्रेसले यो अभियान अघि बढाउन लागेको हो।
अभियानको औपचारिक शुभारम्भ आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा हुनेछ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको शुभारम्भ गर्ने जनाइएको छ ।
अभियान अन्तर्गत सरकारलाई रोजगारी सिर्जना प्राथमिकतामा राख्न दवाव दिने, रोजगारीका सम्भावना पहिचान गर्ने तथा समग्र रोजगारीको वातावरण सुधार गर्ने रणनीतिहरू तय गरिने कांग्रेसले जनाएको छ।
उद्घाटन समारोहमा "अब रोजगारका कुरा गरौँ" विषयमा गोलमेच छलफल (Roundtable Discussion) समेत आयोजना हुनेछ।
कांग्रेसले यो अभियान पार्टी कार्यालय र नेपाली कांग्रेस पुस्तकालय तथा स्रोत केन्द्र विभागको समन्वयमा सञ्चालन गर्ने बताएको छ।अभियानका कार्यक्रमहरूमा राजनीतिक नेतृत्व, श्रम विज्ञ, रोजगारदाता, उद्यमी तथा सरोकारवाला निकायहरू संलग्न गराइने विभागका प्रमुख अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।