काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य नगरे कांग्रेसले आगामी निर्वाचनमा एक्लै चुनाव लड्न नसक्ने बताउनुभएको छ ।
आज झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी सभापतिसहित पार्टी पदाधिकारीहरूसँगको असहमति आफूले राख्दै आएको बताउनुभयो ।
उहाँले कांग्रेस अहिले एमाले नेतृत्वको सरकारको सहयोगीमात्रै भएको बताउँदै कांग्रेसको प्रतिस्पर्धी एमाले नै भएकाले सरकार सञ्चालन गर्न संयन्त्र गठन गर्नु भनेको कांग्रेसले आफ्नो वैचारिक भावलाई समाप्त पार्नु भएको टिप्पणी गर्नुभयो ।
नेता कोइरालाले सरकारले गरेको गलत कामको विरोध कांग्रेसले गर्न सक्नुपर्ने भन्दै २०८२ को चैत मसान्तभित्र १५औं महाधिवेशन भइसक्नुपर्छ भनेर सामाजिक सञ्जालमा लेखेर पार्टी नेतृत्वमाथि दबाब दिन निर्देशन समेत दिनुभयो ।