काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले भूकम्पीय जोखिमलाई ख्याल नगरेको आरोप लगाउनु भएको छ । आज राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभयो ।
गौतमले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताउनुभएको छ । नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गर्दै उहाँले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजारौँ सर्वसाधारण प्रभावित हुने गरेको बताउनुभयो ।
गौतमले नेपालमा दैनिक कुनै न कुनै प्रकारका भूकम्प जाने गरेको भन्दै विकास निर्माणका काममा संवेदनशील भएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।