काठमाडौं । रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । आज एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले उक्त भवनको उद्घाटन् गर्नुभयो ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रूपमा स्थापित गरेको बताउनुभयो । मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उहाँले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिनुभएको छ ।
त्यसैगरी गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूले पर्यटक र आम सेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताउनुभएको छ । उहाँले कर्मचारीहरूको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरु देखा परेको उनको दाबी गर्दै सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको बताउनुभयो ।