काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूबीच देखिएको आपसी मतभेदलाई छलफलका माध्यमबाट अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताउनुभएको छ ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि रूपन्देहीको भैरहवामा सुरु गरेको आयोजनामा प्रशिक्षण कार्यक्रममा उहाँले आपसी मतभेद छलफलका माध्यमबाट अन्त्य गरेर कांग्रेसलाई जीवन्त बनाउनुपर्ने बताउनुभएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कांग्रेसलाई चलायमान बनाउनु नेताहरूको काम भएको भन्दै कांग्रेसलाई जीवन्त बनाउन सके देशभित्र पार्टीका प्रतिको आकर्षण बढ्ने र देश बाहिर पार्टीप्रति सम्मान हुने पनि बताउनुभयो ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको प्रशिक्षण प्रतिष्ठानले भैरहवामा कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । दुई दिनसम्म चल्ने प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना सहभागी रहेका बताइएको छ ।