काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताउनुभएको छ ।
आज प्रेस युनियन सुर्खेतद्वारा सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उहाँले मुलुकको विकास र जनताको चाहना अनुसार दुई ठूला दलबीचको गठबन्धनको सरकार बनेको बताउनुभयो ।
उहाँका अनुसार अहिले देखिएका समस्या समाधान गर्दै जनताका चाहना र अपेक्षा पूरा गर्ने उद्देश्यसहित यो सरकार अगाडि बढिरहेको उहाँले बताउनुभयो । मन्त्रालयगत कार्यसम्पादनको मूल्याङकन भइरहेको भन्दै लक्ष्य अनुसार काम गर्न सरकार निरन्तर अगाडि बढेको उहाँको दाबी छ ।
अध्यादेश बलमिचाईबाट नआएको भन्दै संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको र आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले वर्तमान सरकारले काम गरिरहेको सिंहको जिकीर छ ।
यसैवीच उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिहले नेपाली कांग्रेसको आगामी सभापतिमा दाबी गर्ने सङ्केत गर्नुभएको छ । पार्टीभित्र सभापति चयनको दौडलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला उनले आफू कुनै पनि हालतमा पछाडि नहट्ने सङ्केत गर्नुभएको हो ।
आफ्नो राजनीतिक यात्रा विद्यार्थी कालदेखि सुरु भएको र स्थानीय तह हुँदै पार्टी नेतृत्वमा पुग्दासम्मका अनुभवले थप जिम्मेवारी सम्हाल्न सक्षम बनाएको बताउँदै उहाँले पार्टीलाई सङ्गठनात्मक तथा संस्थागत पार्टी निर्माणका लागि दृढ रहेको बताउनुभयो ।