काठमाडौं । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्न सक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आगलागी नियन्त्रणका लागि सामुदायिक वन समितिको सक्रियतामा प्रहरी र नेपाली सेनालाई समेत तयारीका साथ राख्नुपर्ने उहाँको भनाइ छ । सांसद मिश्रले पछिल्लो पटक काठमाडौंस्थित बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर स्थानीयलाई समस्या भएको घटना उल्लेख गर्दै सो घटनालाई समेत मध्यनजर राखेर सहरमा सडक, खानेपानी, ढल र विद्युत् आदिको व्यवस्थापनको निम्ति समन्वय समिति बनाउनुपर्ने माग गर्नुभयो ।
यस्तै सांसद भुवनबहादुर सुनारले खन÷जोत गर्दै आएका किसानलाई जग्गाको धनी बनाएर लालपुर्जा दिनुपर्ने माग गर्नुभएको छ । सांसद मदनकुमारी शाहले भारतको उडिसा राज्यको केआइआइटीमा अध्ययनरत नेपाली छात्राको मृत्यु पश्चात् नेपाल फर्किएका विद्यार्थीको अवस्थाबारे सरकारले संसद्लाई जनाकारी गराउनुपर्ने माग गर्नुभयो ।
त्यसैगरी राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिन माग गर्नुभएको छ । तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनै पनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा जोड दिनुभयो ।
सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको तामा उत्खननलाई वैज्ञानिक ढङ्गबाट अध्ययन अनुसन्धान गरी पुनःसञ्चालनका लागि सरकारसँग आग्रह गर्नुभएको छ । त्यसैगरी सांसद नरबहादुर विष्टले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भनिए पनि पटक–पटक मिति सारिएको भन्दै समयमै खेलकुद संञ्चालन गर्न सरकारको ध्यानाकर्षण गाराउनुभएको छ ।