काठमाडौं । काठमाडौंमा मुलुकको स्वाधीनता रक्षाका लागि भन्दै राष्ट्रिय झण्डासहित प्रदर्शन गरिएको छ । मातृभूमि संरक्षण नेपालको आयोजनामा हनुमानढोकामा राष्ट्रिय झण्डासहित प्रदर्शन भएको हो ।
‘राष्ट्रवादको नाराले, सुख पाउँछ साराले’ नारासहित भएको प्रदर्शनमा युवाहरु राष्ट्रिय झण्डासहित सहभागी भएका थिए । उनीहरुले राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षाका लागि प्रदर्शन गरेको बताएका छन् । उनीहरुले राजसंस्था र हिन्दू राज्यका पक्षमा पनि नाराबाजी गरेका थिए ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेकपा क्रान्तिकारी माओवादीलगायत २२ राजनीतिक दल तथा संगठनले मंसिर ७ गते अर्थात आयतबार देशब्यापी विरोध प्रदर्शनको तयारी गरेका छन् ।
गत कात्तिक २७ गते बसेको संयुक्त बैठकको निर्णय बमोजिम देशका विभिन्न स्थानमा विरोध प्रदर्शनको तयारी गरिएको हो । २२ दलले काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे विरोध प्रदर्शन गर्नेछन् भने देशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुनेछ ।