काठमाडौं । शनिबार चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा सांसद सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नेकपाकै युवा नेताहरुले नारावाजी गरेको विषयलाई लिएर वरिष्ठ नेता झलनाथ खनालले वक्तव्य जारी गर्दै आपत्ति प्रकट गर्नुभएको छ ।
नेता खनालले चितवनमा भएको घटना सुनियोजित भन्दै यो घटनाले गम्भीर बनाएको टिप्पणी गर्नुभएको छ । उहाँले घटनाको भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्नसमेत माग गर्नुभएको छ । नेता खनालले नेता तथा कार्यकर्ताहरुलाई उत्तेजित नहुनसमेत आग्रह गर्नुभएको छ ।
‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ’, बिज्ञप्तिमा उल्लेख छ ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण समेत गराउँछु ।’
यसअघि अर्का वरिष्ठ नेता माधवकुमार नेपालको पनि पाण्डेमाथि चितवनमा अभद्र व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न माग गर्नुभएको थियो ।
आज साँझ एक विज्ञप्ति प्रकाशित गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले उक्त कार्य गर्ने र गराउने जो सुकै भए पनि छानविन गरी कडा कारबाही गर्न माग गर्नुभएको छ ।