Aug 28 2026 | २०८३, भाद्र १२ गते

२०८३, भाद्र १२ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधीसभा बैठकमा कसले के भने !

प्रतिनिधीसभा बैठकमा कसले के भने !

  • मंगलवार, फाल्गुण १३ २०८१

  • 655
    SHARES

  • प्रतिनिधीसभा बैठकमा कसले के भने !

    काठमाडौं । रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई संसदीय छानबिन समितिको प्रतिवेदनको सिफारिसभन्दा बाहिर गएर प्रतिशोध राखेर मुद्दा चलाइएको आरोप लगाउनुभएको छ।

    आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले समितिको सिफारिस भन्दा बाहिर गएर सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको बताउनुभएको हो । उहाँले सत्तापक्षका नेताहरुलाई सामान्य छानविन गरेमात्रै पनि टाउको लुकाउने ठाउँसम्म नहुने बताउनुभयो ।

    भ्रष्टाचारको फाइल बन्द गर्ने अभिप्रायले सरकार बनेको आरोप लगाउँदै ढकालले प्रधानमन्त्री ओलीले म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्दा नसुहाउने टिप्पणी गर्नुभयो ।
    यस्तै एमाले सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मै पठाउन उचित हुने बताउनुभएको छ । संसदको शून्य समयमा बोल्दै उहाँले सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गरेर अहिले पढेको विश्वविद्यलायमा पठाउनु उचित हुने बताउनुभयो ।

    क्रेडिट आवर मिलाएर आएमा नेपालका काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने भनिरहेका बेला सांसद पन्तले विद्यार्थीलाई क्रेडिट आवर मिलाउन समस्या हुने भएकाले अहिले जुन विश्वविद्यालयमा पढिरहेको हो त्यसैमा पठाउन उचित हुने बताउनुभएको छ ।

    यस्तै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जेष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । खतिवडाले जेष्ठ नागरिकलाई सहज सेवा दिनु राज्यको कर्तव्य भएको भन्दै पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

    यसैवीच, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गाँजा खेती खुला गर्ने नीति लागु गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले गाँजा खेती खुला गर्ने गरी बजेट वक्तव्यमै यो विषय राखेको स्मरण गराउँदै बजेट वक्तव्यको ४९ नम्बर बुँदालाई सरकारले यथासक्य चाँडो कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।

    प्रतिनिधिसभाको आजकै बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सडक दुर्घटनामा परेर घाइते भएकाहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।


    मंगलवार, फाल्गुण १३ २०८१०३:२८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij