काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेले संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाउनुभएको छ ।
आज मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वायत्त प्रदेश, विशेष प्रदेश, संरक्षित प्रदेश हुने कुरा उल्लेख भएको बताउनुभयो ।
संविधानमा स्वायत्त प्रदेश, विशेष प्रदेश, संरक्षित प्रदेश हुनेछ भनेर लेखिएको छ । तर, कांग्रेस र एमाले त्यो व्यवस्था लागू गर्न नचाहेको प्रचण्डले आरोप लगाउनुभयो । संविधानको व्यवस्थाअनुसार ऐन बनाएर संरक्षित प्रदेशहरू बनाउनुपर्ने उहाँको भनाई थियो ।
यस्तै प्रचण्डले पार्टीभित्र कुनै मतभेद नभएको बताउनुभएको छ । पार्टीमा सवै नेताहरु एकजुट भएर जनतामा जाने सहमती भएअनुसार नै अहिलेको आभियान संञ्चालन गरिरहेको उहाँको भनाई थियो ।
विगतमा कांग्रेस एमालेसँग सत्ता समिकरण तथा गठबन्धन गरेर हामीलाई नै घाटा भएको बताउँदै अध्यक्ष प्रचण्डले आगमी दिनमा माओवादीले त्यस्तो भुल नगर्ने बताउनुभयो । आगामी निर्वाचनमा माओवादीले जनताका मुद्धा समावेश गरेर लैजाने गरी गृहकार्य अघि बढाएको प्रचण्डले उल्लेख गर्नुभयो ।