काठमाडौं । प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले विकल्प खोज्ने बेला आएको र त्यसका लागि आफू तयार भएको भिडियो सन्देश दिएपछि सो वक्तव्यलाई लिएर अहिले पनि पक्ष–विपक्षमा प्रतिक्रिया आईरहेका छन् र विभिन्न टिकाटिप्पणी जारी छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि एक ठाउँमा उभिएका राजनीतिक दलले सन्देशलाई लिएर आपत्ति जनाईरहेका छन् । पूर्वराजा शाहले आफ्नो त्यागलाई कमजोरी नठान्नु भन्ने चेतावनीसहित जनतालाई साथ दिन आह्वान गर्नुभएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिप्पणी गर्नुभएको छ । अध्यक्ष ‘प्रचण्ड’ले इतिहासमा एउटा रछ्यानमा मिल्काइएका तत्वहरुले पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवासपनामा छन् भन्दै टिप्पणी गर्नुभएको हो ।
गृहमन्त्री रमेश लेखक लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु भएको बताउनुहुन्छ । लोकतन्त्रको विकल्प नभएको बताउँदै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्रै नै भएको दाबी गर्नुहुन्छ । ‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ । यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो’, गृहमन्त्रीको भनाई छ, ‘त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ ।’
पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै कांग्रेस महामन्त्री गगन थापाले लोकतन्त्रको विकल्प खोज्ने विषयमा छलफल पनि नगरौँ भन्नुुहुन्छ । अब कसैले पनि लोकतन्त्रको विकल्प नखोज्ने तर्क महामन्त्री थापाको छ । महामन्त्री थापाले पछिल्लो पटक पूर्वराजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रूपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताउनुहुन्छ ।
यता, पूर्वराजाको वक्तव्यलाई लिएर राजावादीहरू निकै उत्साहित छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको आह्वानलाई साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा निस्किएको छ । हिजो पोखरामा राप्रपाले राजसंस्था पुनःस्थापनको मागसहित विशाल ¥याली आयोजना गरेको थियो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा अब सडकमा आएको र नयाँ चरणको आन्दोलनको सुरूवात भएको बताउनुहुन्छ । राजाको आह्वानलाई मजबुत बनाएर लैजाने निर्णय पार्टीले गरेको बताउँदै उहाँले उक्त कार्यक्रमले राजाको आह्वानलाई मुर्तरुप दिन बाटो खुला गर्ने दाबी उहाँको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यलाई लिएर नागरिक समाजका अगुवाहरुले राजालाई पनि ठाँउ दिने बेला आएको तर्क गर्दछन् ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित अहिलेका नेताहरु पूर्वराजा ज्ञानेन्द्र शाहसँग डराएर बसेको तर्क गर्नुहुन्छ । ज्ञानेन्द्रको अभिव्यक्तिपछि उहाँ भन्नुहुन्छ, राजालाई कहि न कहि ठाँउ दिन किन नहुने ? प्रचण्ड, ओलीलाई स्वीकार गर्न सक्दा ज्ञानेन्द्र शाहलाई किन शत्रु ठानेको उहाँको प्रश्न छ ।
प्रजातन्त्र दिवसको पूर्वसंध्यामा मंगलबार ज्ञानेन्द्रले १० मिनेटको भिडियो सन्देशमार्फत अब नेपालको उन्नतिका लागि आफूले के–के त्याग गर्नुपर्ने हो तयार रहेको बताउनुभएको थियो।
निराशाको चित्रण गर्दै ज्ञानेन्द्रले शाहीकालकै झल्को दिने गरी वक्तव्य निकालेपछि अहिले गणतन्त्र पक्षधर नेताहरूले टिप्पणी गर्दै आक्रोश पोखिरहेका छन् ।