काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई संकटमा धकेल्नु भएको बताउनुभएको छ । लोकतन्त्रको विकल्प नभएको बताउँदै उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्रै नै भएको बताउनुभयो ।
शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको हो ।
संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेकाले यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम भएको गृहमन्त्री लेखकले बताउनुभएको हो । दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको र संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औंल्याउनुभयो ।