काठमाडौं । देशभर आगलागीका घटना बढिरहेका छन् । दिनुहुँ कतै न कतै आगलागीका घटना भईरहेका छन् । आगो ताप्दा वा खाना पकाउँदा आगोले पोलेर ज्यान जाने, गम्भीर घाइते हुने घटना धेरै छन् ।
पछिल्लो समय लामो हिउँदे खडेरीका कारण पनि आगलागी हुन सुरु भएको छ । असावधानीका कारण खाना पकाउने ग्यास विस्फोटमा परि मानविय क्षति भएको छ भने बेलुन विस्फोट हुँदा निस्किएको आगोले भेट्दा मन्त्री र मेयर घाईते भएको पछिल्लो उदाहरण पनि हामीकहाँ छ ।
माघ महिनामा मात्रै मुलुकभर चार सय ७८ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् ।
आगलागीका घटनाबाट १७ परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । पहिलेको तुलनामा माघ महिना सुख्खा भएको र खाना पकाउने ग्यासबाट पकाउने क्रममा सावधानी नअपनाउदा आगलागीका घटना बढेको प्रहरी प्रवक्ता आचार्यको भनाई छ ।
माघ महिनामा मात्रै भएका आगलागीबाट १८ करोड ४८ लाख भन्दा बढीको आर्थिक क्षति भएको प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गतबर्षको तुलनामा यो महिनामा आगलागीका घटनामा वृद्धि भएको र मृतकको संख्या पनि बढेको प्रहरी प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।
अधिकांश आगलागी मानवसिर्जित रहेकाले पनि समयमा सबै सचेत हुनुपर्ने देखिन्छ । असावधानीका कारण वा आकस्मिक रुपमा दिनुहुँ घटना घटिरहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायाम सुरु भएकाले आगलागीका घटना अझै बढ्न सक्ने भएकाले सचेत हुन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आफू सचेत हुँदा पनि धेरै घटना हुनसक्ने भन्दै घटना भइहाले सावधानी अपनाउनुपर्ने र व्यक्ति स्वयं सचेत हुनुपर्ने बताउनुहुन्छ । आगलागी हुन नदिन र भएमा के गर्ने यसबारे आमनागरिकमा सचेतना फैलाउने काम प्राधिकरणले गरिरहेको उहाँको भनाई छ ।
आगलागी हुने वा आगो प्रयोग गर्दा विभिन्न दुर्घटना हुने अनेक कारण छन् । नेपालमा आगलागीको जोखिम कम गर्ने एवम् आगो निभाउने प्रविधि, उपकरण र जनशक्ति कम छन् । यो बर्ष जाडो महिनामा पानी नपरेकाले डढेलोको प्रकोप फैलिने डर धेरै छ । गाउँगाउँमा स्वास्थ्यकर्मीहरुलाई जलनको प्राथमिक उपचार तत्काल सिकाउनुपर्नेमा अभियन्ता उज्वल विक्रम थापा जोड दिनुहुन्छ ।
हरेक वर्ष डढेलोका घटना भईरहन्छन् । कतै–कतै समुदायमा अझै पनि वनपाखामा डढलो लगाउने चलन छ । आगो निभाउने क्रममा सुरक्षाकर्मी र सर्वसाधरणको प्रत्येक बर्ष ज्यान जाने गरेको छ र धेरैजना घाईते हुने गरेको अवस्था छ । धेरैजसो वनपाखामा हुने आगलागी धुम्रपान गरेर ननिभाई छोड्ने हँुदा त्यसबाट हुने गरेको पाईन्छ । प्रत्येक जंगलक्षेत्रमा धुम्रपान निषेधित क्षेत्र भनेर साईन बोर्ड राख्न पालिकाहरुलाई अभियन्ता थापा आग्रह गर्नुहुन्छ ।
सर्वसाधारणमा आगलागीबाट कसरी बच्ने ? डढेलोका असर के के हुन् ? डढेलो नियन्त्रण कसरी गर्ने ? भन्ने जस्ता न्यूनतम चेतनाको समेत अभाव छ । जसको कारण आगलागी र डढेलोले पु¥याउने क्षतिमा बढोत्तरी भइरहेको छ । आगोजन्य विपतको न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा सम्बन्धित निकायकोे ध्यान जान जरुरी छ ।
आगलागी र डढेलोको भयानकता तथा विध्वंसबाट जोगिन सर्वसाधारणमा चेतनाको अभिवृद्धि गर्नेपर्छ तब मात्रै आगोले गर्ने धनजनको क्षति मात्र होइन, अमूल्य जैविक विविधताको विनाश पनि रोक्न सकिन्छ ।