काठमाडौं । नेपालमा राजतन्त्रको वकालत गर्दै आएका पूर्वपञ्चहरू पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध आक्रोश व्यक्त गर्न थालेका छन् । ७५औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशलाई लक्षित गरेर पूर्वप्रधानमन्त्री डा. भट्टराईले एक टेलिभिजनलाई प्रतिक्रिया दिएपछि राजतन्त्रको वकालत गर्दै आएका पूर्वपञ्चहरू आक्रोशित बनेका हुन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्षसमेत रहेका भट्टराईले आगामी निर्वाचनसम्म राजनीतिक दलहरूले जनतासामु विकल्प दिन नसके पूर्वराजा ज्ञानेन्द्रजस्ता प्रतिगामी शक्ति सल्बलाउने प्रतिक्रिया दिनुभएको थियो ।
भट्टराईको सो अभिव्यक्तिपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालका नेताहरू क्रुद्ध भएका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वप्रधानमन्त्री भट्टराईको अभिव्यक्तिलाई ‘तुच्छ टिप्पणी’को संज्ञा दिनुभएको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानले दिएको अधिकार कुण्ठित गर्ने अधिकार भट्टराईलाई नभएको प्रतिक्रिया दिनुभएको छ ।
मिश्रले ०६४ मा माओवादी र राजा मिलेर सत्ता लिने र माओवादीले राजसंस्था स्वीकार्न तयार रहेको प्रस्ताव पठाएको भट्टराईमाथि गम्भीर आरोप लागाउँदै तत्कालीन समयमा नेपाली कांग्रेस र एमालेलाई पाखा लगाउनेबारे ज्ञानेन्द्रसँग संवाद गरेको हो कि होइन भनेर प्रश्नसमेत गर्नुभएको छ ।