काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताउनुभएको छ । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै उहाँले महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताउनुभएको हो ।
महामन्त्री थापाले अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन तथा अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । उहाँले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्थाभन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै महामन्त्री थापाले पछिल्लो पटक पूर्वराजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रूपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताउनुभएको छ । सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने बताउनुभयो ।