काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फुटाएर आफूले सही र जायज काम गरेको बताउनुभएको छ ।
आज ललितपुरको जावलाखेलस्थित स्थानीय विकास प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा पार्टी केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको नाम नलिइकनै दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरेको बताउनुभएको हो ।
अध्यक्ष नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी बनाएकोमा गौरवबोध गर्ने बताउँदै न्यायोचित र जायज काम गरेको दावी गर्नुभयो । कम्युनिष्ट आन्दोलनको रक्षा गरेर अगाडि बढाएर लैजानका लागि, आफ्नो क्रान्तिकारी दायित्व पूरा गर्नका लागि एकीकृत समाजवादी गठन गरेको उहाँको भनाई थियो ।
यस्तै नेपालले एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्ने भनेर चलाइएको हल्ला निराधार रहेको जिकिर गर्नुभयो । उहाँले मित्र शक्ति खोजेर सहकार्य गर्ने बताउँदै पार्टीलाई अगाडि बढाउन मित्र र सहयोगीहरुको खोजी गरिरहेको बताउनुभएको छ।