काठमाडौं । नेपालमा विशेषगरी मंङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदुषण उच्च हुने गर्दछ । धेरै जनसंख्या भएको र व्यस्त शहर काठमाडौं उपत्यका अहिले वायु प्रदुषणले शिथिल छ । आराम गर्न समेत फुर्सद नहुने काठमाडौंका मानिसहरुलाई वायु प्रदुषणले गर्दा सास फेर्न उचित हावा पनि छैन ।
विगत केहि महिनादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौं उपत्यकामा वायु प्रदुषण बढिरहेको छ । केहि क्षेत्रमा डढेलो लागेसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । त्यसमाथि काठमाडौं सहित देशभर पानी नपरेको पनि धेरै समय भइसकेको छ ।
आज मध्यान्हः काठमाडौं प्रदूषित सहर मध्यको शीर्ष ४ मा रहेको थियो । कचौरा आकारको काठमाडौं उपत्यकामा धेरै हावाको बहाव नहुने, कम पानी पर्ने, जाडो याममा वायु प्रदूषण बढी हुने गर्छ ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण निम्त्याउने प्रमुख स्रोत यातायात प्रणालीसँग पनि सम्बन्धित छ । काठमाडौंमा वायु प्रदूषण गराउन गाडीको धुवाँ, सडकको धुलो, फोहर कृषिजन्य अवशेष बाल्नु पनि हो ।
यसैगरि वायुप्रदुषण हुने प्रमुख कारण औद्योगिक कृयाकलापबाट पनि हुन्छ । त्यसैगरि, निर्माण गतिविधीबाट हुने प्रदुषण, र अन्तरदेशिय प्रदुषित वायुको प्रवाहका कारण पनि अहिले वायु प्रदुषण बढिरहेको छ । वनडढेलो प्रमुख कारण मध्ये एक भएको वातावरण विभागका उप–महानिर्देशक शैलेस कुमार झा बताउनुहुन्छ ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि सबै सरोकारवालासँग समन्वय गरि काम अगाडि बढिरहेको वातावरण विभागको भनाई छ । दिनानुदिन प्रदूषण बढिरहेको छ । नियमित रुपमा प्रदुषणका स्रोतहरुमा अनुगमन भईरहेको विभागका उप–महानिर्देशक झा बताउनुहुन्छ । सर्वसाधरणलाई सचेतना फैलाउने काम पनि वातावरण विभागले गरिरहेको झाको भनाई छ ।
अहिले देशभर वायुप्रदुषण बढ्नुको अर्को मुख्य कारण पानी नपर्नु पनि हो । बाहिर धुम्म भएपनि काठमाडौं उपत्यकामा भने अझै केहि दिन पानी नपर्ने मौसमविद्ले जानकारी दिएका छन् । तुँवालो हट्ने गरि र धुलो पखाल्ने गरि पानी कहिले पर्ला ? पानी पर्यो भने प्रदुषणको मात्रा केहि घट्न सक्छ कि भनेर सबैजनाले पर्खिरहेको अवस्था छ ।
तर यो पाली हिउँदे बर्षा हुन सकिरहेको छैन । मौसमविद्का अनुसार पानी पर्न नसक्दा र धुँलोका कणहरु पखालिन नपाउँदा पनि प्रदुषण बढिरहेको छ ।
वायुमण्डल हाम्रो पर्यावरणको एउटा महत्वपूर्ण अंग हो । वायु हावा बिना हामीले केही मिनेटमात्र बाँच्न सक्छौं । बाँच्नको लागि नभई नहुने वायु नै प्रदुषित भयो भने यसले हाम्रो स्वास्थ्यलाई राम्रो गर्दैन ।
कुनैपनि हानिकारक रसायनिक, भौतिक वा जैविक तत्वहरु वायुमण्डलमा मिसियो भने यसलाई वायु प्रदूषण भनिन्छ । वायु प्रदूषणको कारणले मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणलाई पनि असर पुर्याइ रहेको हुन्छ।
वायु प्रदूषणका कारण स्वास्थ्यमा असरहरु देखा पर्दछन् । मुटु तथा रत्तनली सम्बन्धी रोग हुने जोखिमलाई बढाउँछ । श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग दमको रोग, दीर्घ श्वासप्रश्वास अवरोध रोग फोक्सोको क्यान्सरको जोखिमलाई बढाउँछ । संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनका अनुसार प्रदुषणका कारण मस्तिष्कघात हुने जोखिमलाई बढाउँछ । आँखा, नाक र घाँटिको संक्रमणहरुको जोखिम बढाउँछ ।
वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरुमा धुम्रपान नगर्ने, धुँवा रहित चुल्लोको प्रयोग गर्ने ,धुँवा निकाल्ने सवारी साधानहरुको सट्टा धुँवा ननिकाल्ने साधनहरु प्रयोगमा ल्याउने, कारखानाहरु शहरी क्षेत्र र आवास क्षेत्रहरु भन्दा टाढा निर्माण गर्ने , वन विनाश नगर्ने, वृक्ष रोपण गर्ने, घरबाहिर निस्किदा मास्कको प्रयोग गर्ने गर्नुपर्दछ ।
विशेषज्ञ पुन वायु प्रदुषण कम गर्नका लागि अन्तराष्ट्रिय स्तरमै पहल गरि अगाडि बढ्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।
वायु प्रदुषणले सर्वसाधारणको ज्यान जोखिममा पर्दा पनि प्रदूषण नियन्त्रणमा सरकारले कुन ठोस कदम अहिलेसम्म चालेको देखिदैन । नेपालले हिउँदे महिनामा प्रत्येक बर्ष वायु प्रदुषणको असर थुप्रै पटक भोगिसकेको छ । वायु प्रदुषण नेपालका लागि भयावह देखिएको छ । वायु प्रदूषणले निम्त्याउने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि नागरिक स्तरमा चासो बढ्नु पनि आवश्यक छ ।