काठमाडौं। आज फागुन ७ गते अर्थात, राष्ट्रिय प्रजातन्त्र दिवस। मुलुकमा एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो।
नेपाली कांग्रेसको नेतृत्वमा स्थापीत प्रजातन्त्र अहिले ७५ वर्षमा आइपुग्दा यसबिचमा पनि मुलुकमा विभिन्न आरोह, अवरोहसँगै थुप्रै व्यवस्थामा परिवर्तनहरु आए।
तर ती परिवर्तनकै बिचमा फेरी सोही फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना र २०६३ सालमा लोकतन्त्र प्राप्त भएसँगै २०६५ सालमा नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित भयो।
त्यसपछी २०७२ सालमा कार्यान्वयनमा ल्याएको संविधान अहिले पनि कायम छ। यसरी मुलुकमा भएका सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र नै रहेकोले यसलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ।
सोही अनुसार आज ७५औं प्रजातन्त्र दिवसको मनाईएको छ। तर, अहिलेसम्म आइपुग्दा प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै चरम गुनासा र असन्तुष्टि बढिरहेका छन्।
पछिल्लो समय देशमा बढ्दो राजैनितीक अस्थिरताले उत्पन्न परिस्थीति, बेरोजगारी, महँगी, धरासयी अर्थतन्त्र, बढ्दो युवा पलायनसँगै न्युनतम आधारभुत आवश्यकता पूर्ती गर्न पनि संकट उत्पन्न हुँदा व्यवस्थामाथी नै प्रश्न उठ्न थालेको छ। भने व्यवस्था विरोधीहरु सलबलाउन थालेका छन्।
यो व्यवस्थाले मुलुक झन् संकटमा परेको र यसरी देशले निकास नपाउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा,राप्रपा नेपाल लगाएतका केहि दल र व्यक्तिहरुले देशमा संवैधानिक राजतन्त्र फर्काउनुपर्ने आवश्यकता देखाउँदै आएका छन्।
उता व्यवस्था विरोधी सलबलाउँदै गैरहेको र आम सर्वसाधरणमा राजनैतिक दलहरुबिच उत्पन्न चरम असन्तुष्टीको मौका छोपेर शासनसत्ता जनताको हातमा पुगेपछी भुमिकाविहिन बन्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सक्रियताको संकेत देखाउनुभएको छ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै उहाँले प्रजातन्त्र नै राजा र जनता मिलेर ल्याएको इतिहास देखाउँदै व्यवस्था परिवर्तन गरेको बताउनेहरुले जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब विगतका गल्ती कमजोरी सुधारेर अगाडी बढ्न तयार रहेकोले आँफुलाई साथ दिन सर्वसाधरणमा आह्वान गर्नुभयो।
पूर्वराजा शाहको यो भनाईले राजनैतिक दलहरुमा तरङ्ग पैदा गराएको छ। उहाँका पक्षधरहरुमा केही बल पुगेको छ भने अन्य दलहरुमा चिसो पसेको देखिन्छ।
संवैधानिक राजतन्त्रको वकालत गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा शाहको आह्वान निहित सवार्थका लागी नभै देश र जनताका लागी भएकोले सबै दलहरु सकारात्मक बनेर हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो।
तर प्रजातन्त्रपछी मुलुकको प्रधानमन्त्री पदमा तेस्रोपटक नेतृत्व गरिरहनुभएका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रपछी देश प्रगतीमा लम्किरहेको जिकिर गर्नुभयो।
अहिलेको प्रजातान्त्रीक शासन व्यवस्थामा सरकारले देश र जनताको लागी उल्लेखनिय काम गरेको भन्दै यहि व्यवस्थाबाटै समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय आकांक्षा पुरा गरिने दाबी गर्नुभयो।
यस्तै २००७ सालमा मुलुकमा प्रजातन्त्र ल्याउन मुख्य भुमिका खेलेको नेपाली कांग्रेसले प्रजातन्त्रपछी देश र जनताको अवस्था सृदृढ बन्दै गएको बताउँछ।
कांग्रेस प्रवक्ता डा.प्रकाशसरण महतले सात सालपछी मुलुकमा आएका परिवर्तनले मुलुक अध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको र बिचमा कुनै अवरोधहरु नभएको भए आजसम्म मुलुक निकै अघी बढिसक्ने दाबी गर्नुभयो।
यता इतिहासविद् तथा विश्लेषकहरु भने सात सालपछी मुलुकमा आएका परिवर्तनहरु स्थायीत्व हुन नसक्दा निराशा बढेको बताउछन्।
इतिहास्विद् एवं राजनैतिक विश्लेषक गोविन्दमान्सिंह कार्कीले जनताले धेरै परिवर्तन भोगेपनि के पाए भन्न्ो कुरा महत्वपूर्ण रहेको भन्दै मुलुकमा स्थायीत्व नहुँदा परिवर्तन महसुस नै नभएको बताउनुभयो।
तथापी सर्वसाधरणममा बढेको अहिलेको असन्तुष्टिले मात्रै मुलुकमा कायम व्यवस्था भने भर्खरै संकटमा परिहाल्ने अवस्था नरहेकोले पूर्वराजा ज्ञानेन्द्रको सक्रियताले कुनैपनि फरक नपार्ने दावी गर्नुभयो।
मुलुकमा कायम राजनैतिक दल र यीनका नेतृत्वमा रहेको निहित स्वार्थले अहिले आम सर्वसाधरणमा चरम असन्तुष्टि बढिरहेको छ। यहि अस्थिरताले मुलुकमा प्रजातन्त्रदेखी लोकतन्त्रसम्मका परिवर्तन पनि जनताले राम्रोसँग अनुभुति गर्न पाएका छैनन्।
जनतामा उत्पन्न असन्तुष्टिले व्यवस्था नै परिवर्तन हुने र धरापमा पर्ने अवस्था आउँछ। तसर्थ सर्वसाधरणमा कायम असन्तुष्टि बढ्दै जाने व्यवस्थाविरोधी तत्व सलबलाउँदै जाने अवस्था आउँदा व्यबस्था धरापमा नपर्ला भन्न भने सकिँदैन।
मुलुकमा स्थायित्व दिने र संघर्षपूर्ण तवरले ल्याएको वर्तमान लोकतान्त्रीक शासन व्यवस्था सुदृढ बनाउने दायीत्व पनि यीनै दलको हो। तसर्थ दलहरु नै यसतर्फ जिम्मेवार बन्न जरुरी छ।।