काठमाडौं । भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा आइतबार शंकास्पद अवस्थामा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको प्रकरणमा थप तीनजना पक्राउ परेका छन् ।
भुवनेश्वर प्रहरीले कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक सुधीरकुमार राठलाई पक्राउ गरेर हिरासतमा लिएको हो ।
प्रकृतिको मृत्युपछि छानबिन माग्दै नेपाली विद्यार्थीमाथि कुटपिट र दुव्र्यवहारमा संलग्न केआईआईटी विश्वविद्यालयका सुरक्षा गार्डहरू ४५ वर्षीय रमाकान्त नायक, रवीन्द्र नायक, जोगेन्द्र बेहेरा र बेगु बहेरालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
भुवनेश्वर प्रहरीले सोमबार नै केआईआईटीमा अध्ययनरत भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तवलाई पक्राउ गरिसकेको छ । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । उनको शारीरिक तथा मानसिक यातनाकै कारण प्रकृतिले आत्महत्या गर्न बाध्य भएको समाचार आइरहेका छन् ।
उता प्रकृतिको शव नेपाल ल्याउन भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको छ। आज साँझसम्म शव रुपन्देही ल्याउने तयारी भएको छ ।