काठमाडौं । राप्रपाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनाका सम्बन्धमा सदनमा जानकारी गराउन सरकारसँग माग गरेको छ ।
आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थितिका विषयमा सामाजिक सञ्जालमा नभई परराष्ट्रमन्त्री वा सम्बन्धित निकायले संसद्लाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।
उक्त घटनाको कूटनीतिक तवरले अनुसन्धान गर्न आवश्यक रहेको उहाँको भनाई थियो । अध्यक्ष लिङ्देनले देशको शैक्षिक वातावरण र भविष्य ठिक नभएकाले लाखौँ विद्यार्थीहरू पढ्नका लागि विदेश जान बाध्य भएकोले सरकारले यस घटनाबाट पाठ सिक्नुपर्ने धारणा राख्नुभयो । साथै लिङ्देनले छिमेकीहरूले नेपाललाई हेर्ने दृष्टिकोण पनि तल्लो स्तरको छ भन्ने यसबाट प्रमाणित भएको बताउनुभयो ।