काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएका अध्यादेशहरू जनविरोधी तथा देश हितप्रतिकूल रहेको बताउनुभएको छ । अध्यक्ष महतोले विज्ञप्ती जारी गर्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।
सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएर सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई प्रोत्साहन गर्न खोजेको आरोप लगाउनुभयो । भ्रष्टाचार गर्न, कमिसन खान, सरकार नजिकका व्यक्तिहरू एवं ठुला रियल स्टेट व्यापारीहरूलाई फाइदा पु¥याउने उद्देश्यले भुमी सम्बन्धी अध्यादेश ल्याइएको दाबी गर्दै महातोले अध्यादेश जनहित विपरित भएको बताउनुभएको हो ।
यस्तै अध्यक्ष महतोले आर्थिक तथा व्यवसायिकसम्बन्धी अध्यादेश प्राकृतिक स्रोतहरूको दोहन बढाउन केन्द्रित रहेको उल्लेख गर्नुभयो । सहकारीसम्बन्धी अध्यादेश सरकारी नियन्त्रण बढाउन केन्द्रित रहेको उल्लेख गर्दै महतोले सिंगो सहकारी ठगीमा संलग्न आफ्ना व्यक्तिहरूलाई चोख्याउने र उन्मुक्ति दिने नियतले अध्यादेश ल्याइएको बताउनुभएको हो ।