Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको रबैया र अहमताले सीमा नाघ्दै, संसदमै उठेका प्रश्नमा उल्टै प्रतिप्रश्न, दम्भले संसदीय मूल्य मान्यताकै अपमान(खासखबर)

प्रधानमन्त्री ओलीको रबैया र अहमताले सीमा नाघ्दै, संसदमै उठेका प्रश्नमा उल्टै प्रतिप्रश्न, दम्भले संसदीय मूल्य मान्यताकै अपमान(खासखबर)

  • सोमवार, फाल्गुण ५ २०८१

  • 924
    SHARES

  • प्रधानमन्त्री ओलीको रबैया र अहमताले सीमा नाघ्दै, संसदमै उठेका प्रश्नमा उल्टै प्रतिप्रश्न, दम्भले संसदीय मूल्य मान्यताकै अपमान(खासखबर)

    काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको अहमता झन्झन् बढ्दै गएको छ। मुलुकको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले नै पदिय मर्यादा विर्सेर दुई तिहाईको सरकारको दम्भमा गरिएका व्यवहार र अभिव्यक्तिले पछिल्ला दिनमा दिनप्रतिदिन अहमता बढेको पुष्टि गर्छ।

    यसको पछिल्लो ज्वलन्त उदाहरण हो, हिजो संसदमा भएको प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर। पूर्वनिर्धारित कार्यसूचीअनुसार नै हिजो १० सांसदले दर्ता गराएका प्रश्नको रोस्ट्रमबाटै जवाफ दिने क्रममा विपक्षीका प्रश्नमा प्रधानमन्त्रीको अहमता र घमण्ड निकै झल्कियो।

    म्ुालुकका मुख्य दुईठुला दल कांग्रेस र एमालेको गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका ओली प्रमुख प्रतिपक्षी दलका नेताले संसदमा सम्बोधन गर्दा अनिवार्य सहभागी हुनुपर्नेमा केहिदिन अघी सदनमा उपस्थीत नै नभएर विपक्षीको उपेक्षा गरेको आरोप खेप्नुभएको थियो भने अहिले हिजो आँफैले राखेको सांसदसँगको प्रश्नोत्तरमा उठेका प्रश्नबाटै भागेपछी अर्को आलोचना खेप्नुभएको छ।

    हिजो प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद वर्षमान पुन, नेकपा एकिकृत समाजवादीका सांसद प्रकाश ज्वाला, आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहलगाएतका प्रश्नप्रति प्रधानमन्त्रीको जवाफ रवाफिलो तथा अहमतापूर्ण मात्रै देखिएन गैरजिम्मेवार र संसदकै अपमानपूर्ण देखियो ।

    त्यसमध्ये प्रभु शाहका प्रश्नमा त उहाँ लोकतान्त्रीक व्यवस्थासँगै संसदिय मुल्यमान्यता, नियमावली, संसद र सांसदकै अपमान हुनेगरी अहमतापूर्ण रुपमा प्रस्तुत हुनुभयो। प्रधानमन्त्री सामु सांसद शाहले देशबाट बाहिरिइरहेको रकम,वैदेशिक रोजगारीमा युवा पलायन,राजस्व, भारत भ्रमण, अध्यादेश सहितका आठ प्रश्न सोध्नुभएको थियो।

    जवाफमा प्रधानमन्त्री ओलीले उत्तरको सट्टा आक्रोश ओकल्नु मात्रै भएन उल्टै एकपछी अर्को प्रतिप्रश्न गर्नुभयो, लगत्तै सवालजवाफका लागी उठ्नुभएका सांसद शाहलाई सभामुख देवराज घिमिरेले रोक्नुभयो भने प्रधानमन्त्रीले प्रश्नको जवाफ दिनुपर्नेमा उल्टै उत्तर दिन आवश्यक नरहेको जवाफ दिँदै प्रश्नबाट भाग्नुभयो।

    प्रधानमन्त्रीको व्यबहारपछी सांसद शाहले प्रधानमन्त्रीले प्रश्नबाट भागेर सांसद र सिंगो संसदकै अपमान गरेको आरोप लगाउनुभयो। उहाँले प्रश्न गलत भए सभामुखले हटाउन सक्ने र अन्यथा प्रधानमन्त्रीले जवाफ दिनुपर्नेमा प्रतिप्रश्न गर्दै संसदिय मुल्यमान्यताको धज्जी उडाएर नियमावली विपरित गएको बताउनुभयो।

    सरकारले नै आयोजना गरेको प्रश्नोत्तर कार्यक्रममा उठेका प्रश्नबाट प्रधानमन्त्री आँफै भागेपछी सत्तारुढ सांसद नै यसको आलोचनामा छन्। सत्तारुढ मुख्यघटक कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले प्रश्न गर्दा कतिपय अवस्थामा सांसदहरु चुकेपनि समग्रमा हिजोको घटनाक्रमले राम्रो सन्देश नदिएको बताउनुभयो।

    प्रधानमन्त्रीको यो कदमप्रति जानकारहरुसमेत असन्तुष्ट मात्रै छैनन्, उनिहरुले खेद प्रकटसमेत गरेका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको यो रवैयालाई सामान्य मान्न नसकिने र यो क्षम्यसमेत नहुने बताउनुभयो। उहाँले संसदमा उठेका गम्भिर प्रश्नको जवाफ नदिएर प्रधानमन्त्री भाग्नु संसदिय मुल्यमान्यताकै अपमान हुने बताउनुभयो ।

    प्रधानमन्त्रीबाट संसद र सांसदप्रति भएको यसप्रकारको रबैया आपक्तिजनक र खेदजनक छ। संसद ऐन कानुन बनाउने थलो मात्रै होइन सरकारलाई जिम्मेवार, सजग र सचेत बनाउन विपक्षीहरुले आवश्यक खवरदारी गर्ने थलो पनि हो।

    यसलाई अनावश्यक भाषण छाट्ने र व्यक्तिगत कुण्ठा पोख्ने, आरोप प्रत्यारोपमा उत्रिने, जिम्मेवारहरु नै उठेका प्रश्नको जवाफ नदिएर भाग्ने,पदिय मर्यादा विपरीत अभिव्यक्ति दिने थलो बनाउनु संसदिय मुल्यमान्यता विपरित हो।

    प्रधानमन्त्रीले सत्ता र शक्तिको दम्भमा देखाएका पछिल्ला रवैयाले संसदको प्रभावकारीतासँगै संसदिय मुल्यमान्यता र प्रणाली एवं लोकतान्त्रकि शासन व्यवस्थामाथी नै गम्भिर प्रश्न चिन्ह खडा गरेको छ ।

    तसर्थ यस्ता गतिविधीतर्फ सरकार आँफै जिम्मेवार बन्न जरुरी छ भने विपक्षी दलसँगै सरोकारवाला निकायले पनि आआफ्नो तह र तप्काबाट आवश्यक खबरदारी गर्न पनि उत्तिकै जरुरी छ। अन्यथा यो व्यवस्था नै धरापमा नपर्ला भन्न सकिँदैन ।


    सोमवार, फाल्गुण ५ २०८१०८:१६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij