काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाईका लागि इरानका विदेशमन्त्री अब्बास अराघ्चीसँग आग्रह गर्नुभएको छ ।
आज ओमनको मस्कटमा परराष्ट्रमन्त्री डा.देउवा र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबी भेटवार्ता भएको थियो । सोही भेटका क्रममा डा. देउवाले विपिनको रिहाईका कुटनितिक पहलका लागि आग्रह गर्नुभएको हो ।
आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेका परराष्ट्रमन्त्री डा.देउवा र इरानी विदेशमन्त्रीबीच भेटवार्तामा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको छ । विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने उहाँले आस्वासन दिनुभएको छ।
सन् २)२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा.देउवाले हिजोमात्र कतारका विदेश राज्यमन्त्रीसँग पनि विपिनको रिहाईका लागि आग्रह गर्नुभएको थियो ।