काठमाडौं । सत्तारुढ नेपाल कांग्रेसमा नयाँ बहस सुरू भएको छ । नेपाली कांग्रेसमा संघ र प्रदेशको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बहस सुरू भएको हो ।
स्थानीय तह निर्वाचनको तुस आम निर्वाचनमा परेको र बागी/विद्रोही बढ्दा पार्टीलाई नोक्सानी भएको निष्कर्षसहित कांग्रेसमा नयाँ बहस सुरू भएको हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघ र प्रदेशको निर्वाचनपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र सुरु भएको बताउनुभयो । उहाँले उक्त विषय अहिले पार्टीमा प्रवेशमात्रै भएको तर कुनै निर्णय नभएको बताउनुभयो ।
यो विषय पार्टी सभापति शेरबहादुर देउवा निवासमा शुक्रबार बसेको बैठकमा पनि उठेको थियो । त्यसअघि बसेको संसदीय दलको बैठकमा पनि सांसदहरूले संघ र प्रदेशको भन्दा स्थानीय तहको चुनावलाई पछि गर्नुपर्ने सुझाएका थिए ।