काठमाडौं । सरकारले गत पुस १४, २९ र माघ २ गते जारी गरेका ६ वटा अध्यादेश अझै एक साता संसद्मा पेस नगरिने भएको छ । फागुन ६ गते संघीय संसद्का दुवै सदनमा अध्यादेश पेस गर्ने सरकारको तयारी थियो । तर सांसदहरू राजधानी बाहिर भएकाले फागुन ११ गतेसम्म अध्यादेश संसदमा पेस नगरिने भएको हो । सत्ता पक्षले भूमिसम्बन्धी अध्यादेशबाहेक पाँचवटा अध्यादेश संसदबाट पारित गर्ने तयारी गरेको छ ।
सत्तापक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ । आज सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।
भूमिसम्बन्धी अध्यादेशमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले असहमति जनाउँदा सबै अध्यादेश रोकिएका छन् । यी दुई दलको असहमतिले राष्ट्रियसभाबाट अध्यादेश पास हुने अवस्था छैन । बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताउनुभयो ।