काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि दल फुटाउने गरी अध्यादेश ल्याउने पक्षमा नरहेको बताउनुभएको छ । आजको प्रतिनिधी सभामा प्रधानमन्त्री ओलीले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अध्यादेश ल्याएरै एमालेलाई फुटाइदिएको भन्दै अहिलेको सरकारले जनतालाई नै लक्षित गर्दै अध्यादेश ल्याउँदा विपक्षी दलहरूले भ्रम फैलाएको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध गरेपछि ओलीले ०७८ सालमा अध्यादेश ल्याएर एमाले फुटाइएको स्मरण गराउनुभयो ।
त्यस्तै माओवादी उपमहासचिव वर्षमान पुनले अध्यादेशको चर्को विरोध गरेपछि ओलीले ०८० वैशाख २० गते सम्झिन आग्रह गर्दै त्यतिवेला प्रचण्ड नेतृत्वको सरकारले संसद् अधिवेशन सुरुहुनुभन्दा चार दिनअघि अध्यादेश ल्याएको बताउनुभयो ।
त्यसैगरी चालु खर्च घटाई पुँजीगत खर्च बढाउन सरकारले विभिन्न कदम चालेको र सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो ।
राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय महत्वका प्राथमिकता प्राप्त आयोजना कार्यान्वयनमा स्रोतको अभाव हुन नदिने व्यवस्था मिलाइएको बताउँदै प्रधानमन्त्री ओलीले बहुवर्षीय आयोजनालाई व्यवस्थित गर्न आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१ कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताउनुभएको छ । विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएकाले विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने बताउनुभयो ।