काठमाडौं । सत्तारुढ दलका प्रमुख सचेतकको बैठकले संसदमा विचाराधीन विधेयकहरूलाई दुवै सदनबाट अघि बढाउन पहल गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सत्तापक्षका दलका प्रमुख सचेतकहरूको बैठकले संघीय निजामती विधेयक र शिक्षा विधेयक लगायतका संसदमा विचाराधीन सबै विधेयकहरूलाई अघि बढाउन पहल गर्ने निर्णय गरेको हो ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार चालु अधिवेशन विधेयक अधिवेशन रहेकाले बढी भन्दा बढी ऐन बनाउने विषयमा छलफल भएको छ । संघीय निजामती विधेयक, शिक्षा विधेयकजस्ता महत्त्वपूर्ण विधेयकलाई निष्कर्षमा पु¥याउन पहल गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेश पारित गर्ने कुरामा ढिलाइ भएको भन्दै असहमतिका बुँदाहरूलाई प्रतिस्थापन विधेयकमार्फत सहमति गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
सरकारले ल्याएका अध्यादेशहरू तीन दिनपछि दुवै सदनको कार्यसूचीमा राख्ने र पारित गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।