काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर चन्द्र भण्डारीले पोखरामा हिजो आगलागीमा परेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई अस्पतालमै पुगेर भेट्नु भएको छ ।
कृतिपुरस्थीत वर्न अस्पतालमा उपचार गराईरहनु भएका पौडेल र आचार्यलाई भेट्न नेता भण्डारी हिजो नै अस्पताल पुग्नु भएको थियो । उहाँले चिकित्सकहरुसँग घटनाका बारेमा बुझ्दा खतरामुक्त रहेको थाहा पाएपछि केही राहत महशुस भएको बताउनु भयो ।
नेता भण्डारीले आफ्नो परिवारमा भएको जलनको घटना स्मरण गर्दै उहाँहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
पोखरामा पर्यटन बर्ष उद्घाटनका शिलशिलामा बेलुनमा आगलागी भएर पौडेल र आचार्यको अनुहार, टाउको, हात लगायतका विभिन्न अंगमा चोट लागेकै दिन फागुन ३ गते दुई बर्ष अगाडि आफ्नो घरमा जलनको घटना भएको उहाँले स्मरण गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा जीवन, आगो र पुनर्जन्म शिर्षकमा भावुक स्टाटस समेत लेख्नु भएको छ । स्टाटसमा लेखिएको छ,'उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौड्यालज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यूको शीघ्र स्वास्थ्यलाभको कामना ।
दुई वर्षअघि आजकै दिन, आगोको क्रूर लप्काले मेरी आमालाई चिरनिद्रामा लग्यो। त्यो क्षणले मात्र शरीर जलाएको थिएन, आत्मा नै भष्म भएको महसुस गराएको थियो। म आफैं पनि जलेँ—शारीरिक रूपमा, भावनात्मक रूपमा। तर समय एक अचम्मको उपचारक रहेछ। जलेका घाउहरू विस्तारै निको हुँदैछन्, म फेरि बाँच्न सिक्दैछु। तर आजैको दिन, जलनकै कारण माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौड्यालज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यू अस्वस्थ हुनु भएको खबरले मन फेरि भारी बनाएको छ। प्रा.डा. शंकर राई र डा। किरण नकर्मीसँग तत्काल किर्तिपुर अस्पताल पुगेर उहाँहरूको अवस्थाबारे जानकारी लिँदा, डाक्टरसाबहरूले उहाँहरू खतरामुक्त हुनु भएको खबर दिनु भयो। यसले केही राहत महसुस गराएको छ।
यस कठोर क्षणमा उहाँहरूका लागि हार्दिक शुभेच्छा प्रकट गर्दछु। शीघ्र स्वास्थ्यलाभको कामना । स्वास्थ्य नै जीवनको सर्बोच्च धन हो—यो कठोर सत्यलाई मैले आफ्नै पीडाबाट अनुभूत गरेको छु।'