काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देश बन्दैछ भनेर हल्ला चलाउन सत्ताधारीहरुको पल्टन लागेको टिप्पणी गर्नुभएको छ । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यही गतिमा देशको अझै अँध्यारो यात्रा नै अघि बढिरहेको बताए ।
आर्थिक स्थितिमा सुधार हुँदैछ र देश बन्दैछ भनेर बताउन एउटा सत्ताधारीहरुको पल्टन लागेको बताउँदै उहाँले नयाँनयाँ भनिएका जर्नेलहरु पनि पछाडि लागेर देश बन्दैछ भनेर हल्ला गर्दै हिँडेको आरोप लगाउनुभयो ।
‘ओलीजी बालुवाटारमा हुनुहुन्छ । देश बन्दैछ रे, देउवाजी बालुवाटारको लाइनमा हुनुहुन्छ । त्योभन्दा अरु कुनै तर्क छैन,’ महासचिव भुसालले भन्नुभयो । अहिले सरकार बनेपछि रोजगारी सिर्जना हुनुको सट्टा देश अझै अप्ठेरो स्थितिमा फस्दै गरेको उहाँले बताउनुभयो ।
एउटा अध्यादेशले कांग्रेस र एमालेको पसिना निकालेको भन्दै संविधान संशोधनको लागि छोएर पार लगाउन नसक्ने भुसालको दाबी छ ।