काठमाडौं। त्रिशूली नदीमा बेपत्ता भएका मोटरसाइकल चालक खोज्न गोताखोरको टोली परिचालन गरिएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशुलीमा बेपक्ता भएका थिए ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार व्यक्ति त्रिशूलीमा खसेको थियो ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र परिचयपत्र भेटिएको छ ।
उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना (इन्डियन आर्मी) रहेको खुल्न आएको छ। मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन।