काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन पछिको उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ । उहाँले व्यवस्थाका उपलब्धिलाई संस्थागत गर्दै सकारात्मक ढङ्गबाट अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले राजनीतिक परिवर्तन जोगाउन आर्थिक समृद्धिलाई ध्यान दिनुपर्ने बताउनु भएको हो । आर्थिक समृद्धिलाई नागरिकहरूले महसुस गरेको खण्डमा व्यवस्थाले स्थायित्व प्राप्त गर्ने उहाँको भनाई छ ।
मन्त्री सिंहले नागरिकहरूको लागि लक्षित गरी संविधानले निर्दिष्ट गरेको अधिकारहरू सहज उपभोगमा सरकारले काम गर्नुपर्ने बताउँदै नागरिकका आवश्यकता र चाहना पुरा भए मात्र राजनीति सही ट्रयाकमा आउने भएकाले त्यसमा कांग्रेसले विशेष ध्यान दिन जरुरी रहेको मन्त्री सिंहले बताउनुभयो ।
उहाँले राजनीतिक दलको ऊर्जा कार्यकर्तामा रहेकाले आपसी समझदारी कायम गरी अघि बढ्नुपर्ने भन्दै पार्टी भित्रको विवाद समाधान गर्न माथिल्ला संरचनाहरूसँगको समन्वयमा छलफल र सहकार्यमा जोड दिन निर्देशन समेत दिनुभयो ।