काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक सदनबाट पारित हुने बताउनुभएको छ ।
आज संसद भवन नयाँ बानेश्वरमा विधेयक हुबहु पारित हुन्छ कि संशोधन गरी अघि बढ्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले विधेयक सदनबाट पारित हुने बताउनुभयो ।
उहाँले विधेयकका सन्दर्भमा कसले के भने भन्ने ठूलो कुरा नभएको भन्दै आफूले विधेयकमा के ल्याए भन्ने ठूलो कुरा रहेको उल्लेख गर्नुभयो । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरिसकेको छ। विधेयकले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने भन्दै आलोचना भइरहेको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्बाट हुबहु फिर्ता गरिनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताउनुभयो ।
उहाँले सरकारले जबरजस्ती गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी दिदैँ सामाजिक सञ्जालमार्फत हुने अपराध न्यूनीकरणका लागि साइबर क्राइमजस्ता कानूनहरु विद्यमान रहेकाले यो विधेयक पेश गर्नुको कुनै तुक नरहेको बताउनुभयो ।