काठमाडौं। आज संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्दैछ ।
यसअघि सरकारले कार्यसूचीबाटै फिर्ता ल्पयाएको अध्यादेश आज पनि कार्यसूचीमै राखिएको छैन । अध्यादेश पारित गर्न राष्ट्रियसभामा संख्या अपुग हुने भएपछि सरकार पछि हटेको हो।
आज प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको एकसट्टिऔं वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि माननीय प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने छ।
गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक(२०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्न कार्यसूचीमा उल्लेख छ ।
आजकै बैठकमा विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानुन, न्याय तथा मानव अधिकार समिति’को प्रतिवेदनको विभिन्न बुँदाहरु र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक( २०८१ लाई पारित गरियोस्,’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।