काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताले एमाले उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावासको सजाय हुनुपर्ने बताएका छन् । एमालेका उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ‘बादल’ले माओवादीको नेतृत्वमा भएको जनयुद्धलाई हिंसा भनेपछि (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटाले थापालाई आजीवन कारावास हाल्न सरकारसँग आग्रह गर्नुभएको हो ।
बिहीबार अछाम पुगेर ‘जनयुद्ध हिंसा थियो’ भन्ने अभिव्यक्ति दिएका थापालाई सरकारले गिरफ्तार गरी आजीवन कारावास हाल्नुपर्ने सापकोटाको भनाइ छ । माओवादीका पूर्व नेता समेत रहेका ‘बादल’ले जनयुद्धलाई हिंसा भएको प्रतिक्रिया दिएपछि माओवादी नेताहरु उहाँलाई कारवाही गर्नुपर्ने धारणा राख्दै आएका छन् ।
हिंसालाई नेपालको कानुनले अपराध मानेको र हिंसा गर्ने मान्छेलाई दण्डित गर्नुपर्ने भन्दै सापकोटाले फेसबुकमा लेख्नुभएको छ, ‘बादललाई तुरुन्त काराबासको सजाय दिइयोस् । किनभने उनले भनेको हिंसा उनी आफैँ पत्यक्ष संलग्न भएर गरेका हुन्। हामीले त जनयुद्ध गरेका हौँ। त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो ।’