काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वच्छ राजनिति गरिरहेका इमान्दार नेतालाई ठगेर खाने नेतासँग तुलना गर्न नहुने बताउनुभएको छ । शुक्रवार काठमाडौं १ निर्वाचन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका वडा नं. २९ को वडा कार्यालय भवन उद्घाटन गर्दै उहाँले इमानको राजनिति गरिरहेका नेताहरुलाई हावाको गफ दिएर ठगी गरेर खानेहरुसँग दाँज्ने काम ठिक नभएको बताउनु भएको हो ।
‘नागरिकले काम गर्ने र हल्ला गर्नेहरुलाई छुट्याउन आवश्यक छ । खराव नियत राखेर राजनितिमा आएकाहरुको नियत राम्ररी बुझ्न जरुरी छ । विदेश छाडेर आएका सवै राम्रा हुन्छन् भन्ने छैन् । विदेशमा के काण्ड गरेर देशमा फर्किएको हो ? भनेर बुझ्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।
साथै उपप्रधानमन्त्री सिंहले देशलाई समृद्ध बनाउन र जनताका दैनिक समस्यालाई कम गर्नका लागी सरकारले अध्यादेश ल्याएको बताउनुभएको छ । अध्यादेशमा आएका विषयलाई कानुनको रुपमा विकास गरेर विकाससँग जनतालाई जोड्ने उदेश्य सरकारले राखेको उहाँले बताउनुभयो ।
देशको विग्रिएको अर्थ व्यवस्थामा सुधार ल्याउने गरी काम भइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिक तहबाट सरकारलाई साथ दिन आग्रह गर्नुभयो । काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिनिधित्व गरेपछि सडक, सामुदायिक विद्यालय लगाएतका पूर्वाधारमा धेरै काम भएको समेत उहाँले दावी गर्नुभएको छ ।