काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश फेल हुने बताउनुभएको छ । बुधबार धनगढी पुगेर नेता पुनले सरकारले संसद छलेर अध्यादेश ल्याएकाले राष्ट्रिय सभावाट फेल हुने बताउनुभएको हो ।
‘भूमि हीनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक हो । तर संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको छ,’ नेता पुनले भन्नुभयो ।
साथै कार्यक्रममा बोल्दै उहाँले गिरीबन्धु टी–स्टेट जस्ता हदबन्दी माथिका केसलाई आफू अनुकूल लैजाने सरकारले चलखेल गरेको बताउनुभयो । ‘अहिले दुई ठुला दल मिलेर सरकार बनाएका छन् । संख्यामा बहुमत जस्तो देखिएपनि सरकार कमजोर छ । प्रतिनिधी सभामा सरकारको बहुमत भएपनि राष्ट्रिय सभामा सरकार कमजोर छ । सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभावाट फेल हुन्छ,’ उहाँले भन्नुभयो ।