काठमाडौं । सामुदायिक विद्यालयमा खानेपानीमा लाग्दै आएको महसुल छुट गर्नका लागि मन्त्रालयले गृहकार्य सुरु गरेको छ । सामुदायिक विद्यालयमा खानेपानीमा लाग्दै आएको महसुल छुटका विषयमा खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।
कार्यदलमा सहसचिव श्रेष्ठसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव समेत रहने गरी कार्यदल बनाइएको हो । कार्यदलले विद्यालयमा वितरण गरिएको खानेपानीमा लाग्दै आएको महसुल छुट गर्नका लागि आवश्यक अध्ययन गर्ने खानेपानी मन्त्रालयले जनाएको छ ।
खानेपानीमन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईबीच सामुदायिक विद्यालयमा खानेपानी जडान, वितरण तथा महसुल छुटको विषयमा सहकार्य गर्ने सहमति भएको थियो । सो सहमतीपछि खानेपानी मन्त्री यादवले सार्वजनिक कार्यक्रममा नै विद्यालयमा खानेपानीको महसुल तिर्न नपर्ने गरी काम गर्ने बताउनुभएको थियो । दुई मन्त्रालयका मन्त्रीहरुको सहमती अनुरुप नै कार्यदल गठन गरेर गृहकार्य सुरु गरिएको जनाइएको छ ।
‘विद्यालय क्षेत्रमा खानेपानी जडान, वितरण र महसुलका लागि के कसरी काम गर्न सकिन्छ ? भनेर कार्यदल गठन भएको छ । कार्यदलले अध्ययन पनि सुरु गरेको छ । अहिले कार्यदलले जानकारी लिने काम गरिरहेको र अध्ययनपश्चात् कार्यदलले सुझाव पेश गर्नेछ,’ कार्यदल संयोजक श्रेष्ठले बताउनुभयो ।