काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकसँग छलफग गर्नुहुने भएको छ । आज दिउँसो ३ बजे सिंहदरवारमा दलका प्रमुख सचेतकहरुसँग बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
माघ १८ गते बसेको संसदको हिउँदे अधिवेशनमा सरकारले विभिन्न ६ वटा अध्यादेश पेश गरेको थियो । सरकारले ल्याएका अध्यादेशको विपक्षी दलहरुले चर्काे विरोध गरेका छन् । संसदलाई छलेर सरकारले गलत तरिकावाट अध्यादेश ल्याएको विपक्षी दलहरुको आरोप रहेको छ।
आज सभामुखसँगको छलफल कार्यक्रममा नेपषली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागि हुने जनाइएको छ ।
बैठकमा सरकारले ल्याएका अध्यादेशका बारेमा सत्ता पक्ष र विपक्षबीच छलफल हुने जनाइएको छ । अहिले सत्ता पक्ष र प्रतिपक्षबीच अध्यादेशका विषयमा मतभेद रहेको छ ।