काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव विथोल्ने प्रवृती रोक्नका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी कानुन आवश्यक परेको बताउनुभएको छ । आज नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत एक–अर्कालाई हानी पु¥याउने क्रियाकलाप बढ्दै गएको, सामाजिक सद्भाव बिग्रदै गएकोले यसलाई रोक्नका लागी सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याइएको बताउनुभएको हो ।
सरकारले ल्याएको विधेयकबारे विरोध र छलफल हुनु लोकतन्त्रमा स्वभाविक रहेको भन्दै राष्ट्रिय एकता खल्बलाउने काम देशद्रोह भन्ने आधारमा दण्ड र सजाय तोकिएको जिकिर गर्नुभयो ।
यस्तै मन्त्री गुरुङले सुसूचित हुने जनताको अधिकार नखोस्ने र जनताको वाक स्वतन्त्रको ग्यारेन्टी सरकारले गर्ने धारणा बताउनुभयो । अराजकतालाई नियमन गरेर मात्रै लोकतन्त्र बलियो बनाउन सकिने उहाँको भनाइ थियो ।