काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो ।
‘१२ फागुनदेखि झापाको कचनकवलबाट अभियान सुरु गर्दैछौं, यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ’, सापकोटाले भन्न्ुभयो । २१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।
यसैवीच माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू पनि तोकेको छ । पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्ने निर्णय गरेको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार, कोशीमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज, मधेश प्रदेशमा उपमहासचिव मातृका यादव, बागमती प्रदेशमामा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णाली प्रदेशमास्थायी कमिटी कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेल इन्चार्ज तोकिएका छन् ।
यस्तै, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, यूरोप अमेरिका इन्चार्जमा राम कार्की र एसियामा ओम शर्मा तोकिएका छन् । महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीतिअनुसार कार्यविभाजन गरिएको सापकोटाले बताउनुभयो । यसअघि उपाध्यक्ष सापकोटा बागमती र युरोप अमेरिका प्रवास इन्चार्ज पम्फा भुसाल हुनुहुन्थयो ।